
दैलेखः दैलेखमा बालविवाहको भयावह अवस्था रहेको पाइएको छ । कानुनी रूपमा बिस वर्ष नपुगी बिहे गर्न पाइदैन् तर यहाँ सानै उमेरमा बिहे गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । सानै उमेरमा बिहे गर्नेको सङ्ख्या बढ्दो रहेको स्वास्थ्य सेवा कार्यालयमा बिस वर्ष मुनि गर्भ जाँच गर्न आउनेको तथ्याङ्कले देखाएको हो ।
दैलेखमा सानै उमेरमा हुने विवाहलाई रोक्न भन्दै विभिन्न सामाजिक सङ्घ संस्था र सरकारी निकायले बर्सेनि लाखौँ खर्चिने गरेका छन् तर यहाँ बालविवाहका नाममा गरिने खर्च व्यर्थ बनेको तथ्याङ्कमा देखिन्छ । विभिन्न बहानामा गरिने लगानीको सामाजिक स्तरमा प्रभाव खासै परेको देखिदैन् ।
स्वास्थ्य सेवा कार्यालय दैलेखको तथ्याङ्कमा हेर्ने हो भने सानै उमेरमा विवाह गरी पहिलो गर्भ जाँच गर्न आउने महिलाको सङ्ख्या बर्सेनि बढ्दो छ । स्वास्थ्य सेवा कार्यालय दैलेखको तथ्याङ्कमा यस वर्षको फागुन महिनासम्म २० प्रतिशत भन्दा बढी बिस वर्ष मुनीकाले गर्भ जाँच गराएको देखिन्छ ।
यसरी बर्सेनि कम उमेरका गर्भवतीको सङ्ख्या बढ्नुले जिल्लामा बालविवाहको अवस्था कस्तो छ भन्ने सहजै आकलन गर्न सकिन्छ । बालविवाह रोक्न भन्दै यहाँका सामाजिक सङ्घ संस्था र सरकारी निकायले गर्ने खर्चको प्रगति व्यवहारमा नभई कागजमा मात्र देखिने गरेको प्रस्ट हुन्छ ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका मेडिकल रेकर्डर प्रकाश अधिकारीका अनुसार यस वर्षको हालसम्म स्वास्थ्य संस्थाबाट दैलेखमा पहिलो पटक गर्भ जाँच गर्ने बिस वर्ष मुनिकाको सङ्ख्या करिब २० प्रतिशत बढी रहेको छ । फागुन महिनासम्म जिल्ला भर बिस वर्ष मुनिका ५ सय १५ जनाले गर्भ जाँच गराएका छन् ।
लगानी अनुसार छैन उपलब्धि
जिल्लामा बालविवाह न्यूनीकरणका क्षेत्रमा काम गर्ने हाल तीन वटा सामाजिक सङ्घ संस्था रहेका गैरसरकारी संस्था महासङ्घ दैलेखले जनाएको छ । उनीहरूले बालविवाह रोकथाममा बर्सेनि गर्ने खर्च उपलब्धि हीन जस्तै
छ । बालविवाह रोक्न भन्दै गरिएको करोडौँ लगानी अर्थहीन जस्तै रहेको तथ्याङ्कले प्रस्ट्याउँछ ।
जिल्लामा हाल बालविवाह रोकथाम गर्ने भन्दै महिला शशत्तिकरण मञ्च, एभरेस्ट क्लब दैलेख र सोसेक नेपाल दैलेखले काम गर्दै आएका गैरसरकारी महासङ्घ दैलेखका अध्यक्ष डिल कुमारी चन्दले बताइन् । उनले तथ्याङ्कमा हेर्दा सामाजिक सङ्घ संस्थासँगै सरकारी निकायले बालविवाह न्यूनीकरणमा कहाँ र कसरी काम गरिरहेका छन् भनेर प्रश्न उठाउने ठाउ रहेको बताइन् ।
उनले पछिल्ला वर्षहरूमा सामाजिक सङ्घ संस्थाका कारण बालविवाहका विषयहरू बाहिर आउन मद्दत पुगेको बताइन् । गैरसरकारी संस्था महासङ्घ दैलेखले सामाजिक सङ्घ संस्थाका कारण बालविवाहका विषय बाहिर आउने बताए पनि जिल्ला प्रहरी कार्यालय दैलेखको तथ्याङ्कमा यस वर्षको हालसम्म पनि बालविवाह सम्बन्धी उजुरी परेको देखिदैन् ।
गत वर्ष प्रहरीमा बालविवाह सम्बन्धी छ वटा उजुरी आएको भए पनि यस वर्षको हालसम्म बालविवाह सम्बन्धी उजुरी आएको प्रहरीको तथ्याङ्कमा छैन् । यहाँका सामाजिक सङ्घ संस्थाहरूले बालविवाह न्यूनीकरण सम्बन्धी गरेका काम कागजमा देखिने गरेको दैलेखमा लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार भीम बहादुर सिजापतिले बताए ।
‘यहाँ थुप्रै सामाजिक सङ्घ संस्थाहरूले बालविवाह न्यूनीकरणका नाममा विगतका वर्षहरूदेखि मोटो रकम लगानी गर्दै आएका छन् । उनीहरूले गर्ने लगानी बालुवामा पानी जस्तै छ भन्ने स्वास्थ्य सेवा कार्यालय दैलेखका तथ्याङ्कले देखाउँछ । सामाजिक सङ्घ संस्थादेखि सरकारी निकायले बालविवाह न्यूनीकरणमा गर्ने खर्चको उपलब्धि देखिदैन्’, पत्रकार सिजापतिले भने ।
विगत लामो समयदेखि यहाँका सामाजिक संस्था सोसेकले बालविवाह न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको छ । ०७१ सालदेखि विभिन्न कार्यक्रम मार्फत बालविवाह न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको सोसेक नेपाल दैलेखका कार्यकारी निर्देशक हिरासिंह थापाले बताए ।
उनले सोसेक नेपालले हाल यहाँको गुराँस गाउँपालिका, भैरवी गाउँपालिका र ठाटिकाँध गाउँपालिकामा बालविवाह न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको बताए । ‘हामीले काम गर्दै आएका स्थानीय तहमा विगतका वर्षहरूको तुलनामा बालविवाह न्युनिकरणतर्फ जाँदै गरेको देखिन्छ पछिल्ला वर्षमा सानै उमेरमा बिहे गर्नेको सङ्ख्या कम हुँदै आएको छ’, कार्यकारी निर्देशक थापाले भने ।






